अन्तिम शब्दहरु

तिम्रा लागि
सत्य रहस्यमै रहनेछ
बोल्नै परे
झूठो अभिनय गर्नेछु
क्षमा गर
मेरा अन्तिम शब्दहरु

सपना सिसा जस्तै
विपना पनि उस्तै उस्तै
प्रतिघातमा बज्रिएर
झ-याम्म फुट्यो
मुटु छेड्ने गरी र छचल्किए
मेरा अन्तिम शब्दहरु

सम्झ - केहि भएकै थिएन
बिर्स - जे भएको थियो
म चोइट्याइदिनेछु
आत्मकथाका पानाबाट
मधुमासका हिस्साहरु
तिम्रो खुशीका लागि

काँढा नबिझुन पाइलाहरुमा
ठेस नलागोस आकांक्षाहरुमा
म मौन बस्नेछु
तिम्रो खुशीका लागि
विश्वास गर
मेरा अन्तिम शब्दहरु

No comments:

Post a Comment