चाबी हराएको रात

अनिमेष मेरो मामाको छोरा । म भन्दा एक वर्ष कान्छो छ । गएको फागुनमा चौविस लाग्यो । नेपाल छँदा हामी निकै मिल्ने साथी थियौं, तर उसले मलाई दाई नै भन्छ। औधि विश्वास गर्छ , केहि लुकाउँदैन । दुई वर्ष भन्दा केहि अघि लगभग एकै बेला म अमेरिका आएँ, उ युरोपतिर गयो । लंडनमा छ, एउटा कलेजमा भर्ना भएको छ । दुई दिन कलेज जानुपर्छ, अर्को चार दिन काममा र वाँकि एक दिन हप्ताभरिको थकान मेट्ने, सरसफाई, भेटघाट, मनोरंजन इत्यादिको अवसर हो उसका लागि । 'दाई अहिलेलाई भिसा बढाउने मेसो मात्र हो तर पैसा जम्मा गरिरहेको छु , चाँडैनै युनि भर्ना हुन्छु ।' उसले मलाई टेलिफोनमा दोहो-याइरहन्छ । वास्तवमा उसले मलाई नियमित रुपमा फोन गरिरहन्छ । 'तपाईंका लागि महिनाको पाँच पाउण्ड मात्र हो',मैले धेरै फोन गर्नुपर्दैन भन्दा उसले यहि जवाफ दिने गर्छ ।

पोहोर साल मौका संजोगले म लंडन गएको थिएँ । दुई दिन उसकहाँ नै बसें। उ एउटा अंग्रेजको फ्ल्याटमा विदेशीहरु संग बस्ने गर्छ । 'नेपालीहरुसंग किन नवसेको' 'खै दाई, भने जस्तो साथीहरु पनि भेटिएन, अनि मलाई त यहिं आनन्द छ। फेरी नेपालीहरु सित बस्दा कानेखुशी सुन्नुपर्छ, पकाउने र सरसफाई गर्ने बेलामा किचकिच हुन्छ, वरु यहाँ नै हाइसन्चो छ।' उसले एकै शासमा वेलिविस्तार लगायो ।

म उसकोमा जाँदा उसले आफ्ना flat mate हरुसंग परिचय गराएको थियो । उसको कोठाको तल्लो तल्लामा एकजना ब्रिटिश केटा र उसकी अस्ट्रेलियन गर्लफ्रेण्ड वस्छन्। किचन, वाथरुम सवै तलै छन्। माथीको एउटा ठ्रलो कोठामा जमैकाकी एकजना अधवैंशे आइमाई वस्छिन्, बीचमा एउटा तरुनी केटीको कोठा छ र पल्लो छेउमा अनिमेषको चिटिक्कको सिंगल रुम छ । एकजनालाई हालिमुहाली, दुई जनालाई चाहिं अलि गाह्रो साह्रो । 'घरबेटिले सवै कोठामा चाहिने सरसामान जोडिदिएकाले हाम्रो फ्ल्याटमा लाउन्ज छैन दाई,' उसले मलाई सम्झाएको थियो ।

तलका जोडीहरु क्रिश र रविन खुबै रसिक थिए। जतिवेला पनि संगै हिंड्छन, किचनमा पनि थुतुनो जोडिरहन्छन अनि लाजै नमानी गंजी र कट्टु मात्र लगाएर भित्र वाहिर गरिदिन्छन्। मैले उसैबाट थाह पाएको कुरा हो यो । माथीकी अधवैंशे आइमाई पनि जाति नै छिन्। सवभन्दा बढि सरसफाई उनै गर्छिन्। क्रिशमश, नयाँ वर्षमा सबैका निम्ति उन्लेनै खाना पकाएकी थिइन् रे। एक्लै बसेपनि प्राय आइतवार एकजना क्यारेवियन समवयी आइरहन्छ उनको थलोमा र हप्तामा एक रात उनिहरु संगै विताइदिने गर्छन्। उनको नाम जेनिफर हो तर सवैले छोटकरीमा जेनि भनेर वोलाउने गर्छन्। घरबेटिले त झन बढो मायालु पारामा 'जेइनी' भनेर उनको नाम लिन्छन् रे, यो पनि अनिमेषले नै भनेको मलाई ।

अनिमेषको सवभन्दा नजिककी छिमेकी तरुनी ट्रिनिडाडबाट आएकी हो । गोरे बाउ र काली आमाकी क्रस, ल्याटिनो जस्तै देखिन्छे। अलि मोटी भएपनि खंदिलो जिउ भएकीले राम्रीनै मान्नुपर्छ उसलाई, नत्र ठिकै भनेपनि फरक पर्दैन । त्यो फ्ल्याटमा सरेको दिन उसले परिचयको हात अगाडि बढाउँदै भनेकी थिई Hi, I am Jerilee. अनि अनिमेषले पनि Hello Jeri, I am Animesh भनेर हात मिलाएको थियो । उसको गंठिलो हातले कसक्क अठ्याउँदा अनिमेषलाई रमाइलो अनुभुति भयो रे, एक प्रकारको आशाको संचार भयो रे । भोलीपल्ट टलिफोन गरेर उसले आफ्नो मनमा गुम्सिएको तरंग ओकलेको थियो ।

जेरी अलि चालु केटी रहिछ । एकदिन एउटा केटालाई घरमा ल्याएर यो मेरो ब्वाईफ्रेण्ड भनेर चिनाई। त्यसको भोलिपल्ट दुईजना श्याम वर्णका भुस्तिघ्रेहरु आए । Meet my friends X and Y भनेर फेरि परिचय गराई । 'कस्ति रैछ गाँठे यो केटि त' अनिमेषलाई कस्तो सकसक लाग्यो, तैपनि मनमा रहेको एउटा आशाको त्यान्द्रो झुण्डिरह्यो रे।

एक हिसाबले त्यो फ्ल्याटमा अनिमेष एक्लो वृहस्पति जस्तै अनुभव गर्छ। किनकी सवैका आफ्ना जोडिहरु छन्, उ नितान्त एक्लो । घरिघरि नेपाल गएर बाजा वजाइहालौं जस्तो लाग्छ उसलाई। माइजुले पनि उसका लागि घरमा थुप्रै केटीहरुको प्रस्ताव आएको वताउनुभएको थियो मलाई। तर उसका अरु प्राथमिकताहरु महत्वपूर्ण छन्, आम नेपाली विद्यार्थीहरुका जस्तै । त्यसैले कहिले काहिं दमित आकांक्षाहरुले जलन उत्पन्न गराउँदा उसले त्यहि एउटा विकल्पको सहारा लिने गर्छ। एकान्त निराशाले राति निद्रा लाग्न दिएन भने उसले जुरुक्क उठेर तृष्णाको रापलाई शितल पार्ने बाटो रोज्छ । दन्केको आगोको ज्वाला चुलिएर छताछुल्ल वाहिर पोखिए पछि मन शान्त हुन्छ। एक प्रकारको गल्ति वोध हुन्छ र थकाई लाग्छ उसलाई । अनि त्यहि थकानसंगै मन्द सुस्केरा हालेर आनन्दसंग निदाइदिन्छ उ। यस्ता कुराहरु स्वभाविक नै हुन यो उमेरमा, कोही अभिव्यक्त गर्छन कसैले अव्यक्त हुन रुचाउँछन् , फरक त्यत्तिमात्र हो। जेहोस मान्छे असाध्यै भलाद्मी र इमान्दार हो । 'चौविस वर्ष पुग्दापनि मैले केहि नाप्न सकिन दाई' , लाज मिश्रित कम्पित स्वरमा उसले मलाई आफ्नो व्यग्रता सुनाउँदा मलाई काउकुति भन्दा बढि खित्का नै छुटेर आउँछ। उसका भनाइहरुमा विश्वास नगर्नुपर्ने कारण देख्दिन म।

*********************************************************

त्यो रात उसले एउटा डिभिडी हर्ने प्रयाश गर्दैथियो । नेपालबाट फर्केको साथीले हरिवंशको कमेडी हो भनेर एउटा कपि गरिएको डिभिडी थमाइदिएको थियो उसलाई दिउसो । डिनर सकेर दश वजेतिर उसले त्यो डिभिडी हेर्न कोशिश गयो । आवाज मात्र आउँछ, रातो पर्दा मात्र देखिन्छ वा। नेपाली केटा केटीहरु जिस्किएर, छिल्लिएर बोलेको मात्र सुनिन्छ, दृश्य केहि देखिन्न। सिडिको वार्तालाप सुनेपछि अनिमेषले लख काट्यो - हत्तेरिका! नितेशले कमेडी भनेर यस्तो पो भिडाएछ । तै ठिकै छ, उसले भिडियो हेर्ने दर्जनौ प्रयाश ग-यो तर आवाज सिवाए केहि आउँदैन। ह्याSSSS भनेर उसले त्यसलाई मिल्काइदियो र पहिले पनि कहिलेकाहिं खोल्ने गरेको URL टाइप ग-यो http://www._/ _ _ _ .com. अनि आफ्नै उदेक लाग्दो संसारमा उ रमाउन थाल्यो।

ढोकाको लक लागेको सुनिश्चित गरेर अनिमेष इन्टरनेटको एउटा मन वहलाउने दुनियामा रुमल्लिदै थियो, दुई परिचित महिला आवाजहरुले उसको एकाग्रता भंग भयो । उ झस्क्यो र आइमाईहरु गुनगुन गरिरहेको, हाँसिरहेको सुनेर सावधान भयो । 'छि यिनिहरुले थाह पाइरहेका छन् क्याहो' भनेर उसले झटपट मिडिया प्लेयर वन्द गरिदियो र कानमा जोडेको हेडसेट पनि फुकालिदियो । महिला आवाजको कोलाहल झन झन बढ्न थालेपछि उसले कम्प्युटर नै वन्द गरिदियो । अनि आफ्नो ट्राउजरलाई सपक्क मिलाएर सामुन्नेको ऐनामा आफूलाई परिक्षण ग-यो। सबै ठिक छ। कान अलि रातो देखिए पनि कसैले शंका गरिहाल्ने छाँटकाँट छैन, गरेको पनि के नै हो र? उ विश्वस्त भयो र ढोका खोल्न अघि बढ्यो ।

बाहिर Hallway मा जेरी र जेनी, जेरीको कोठाको ढोका खोल्न प्रयाश गरिरहेका थिए । बिचरी जेरीले चाबी भित्रै छुटाइछ र ढोकाको लक अटमिटिक लाग्न पुगेछ। कहिलेकाहिँ धोका दिन्छन् फ्ल्याटका ढोकाहरुले , त्यसैले अनिमेषले दुइटा चाबी बनाएको छ। एउटा आफ्नो साथमा र अर्को एक्सट्रा तल किचनको क्याबिनेटमा राख्नेगर्छ उसले । तर जेरीले नक्कल बनाउन भ्याएकी रहिनछ । अनि एउटा अंकुशे तार जस्तो लिएर ढोका खोल्न बल गरिरहेका रहेछन् - दुई जनाले अघिनै देखि। अब चाहिं अनिमेष ढुक्क भयो तर ढोका नखुलेर उत्पन्न समस्या ज्यूँ का त्यूँ थियो । आसन्न संकट एउटा समस्या हो कि अवसर हो भन्ने विचार अनायाश उसको दिमागमा आएपछि उसले एकछिन गम खायो र दुइजनाको कुरा ध्यानपुर्वक सुन्न थाल्यो ।

जेरी केहिवेर अघि मात्र कामबाट फर्केकी रहिछ। (वास्तवमा उ एउटा अस्पतालको रिसेप्सनमा काम गर्थी) । अनि लुगासुगा फुकालेर हातखुट्टा धुन पाइजामाको भरमा तल झरेकी, फर्कदा त ढोका खुल्दैन। सोंच्दै नसोचेको कुरा साँचो आफै लाग्न गयो। जेरी ढोकाको knob को चावी खोल्ने प्वालमा अंकुशे घुसाएर साँचो खोल्ने कोसिस गर्दै थिइ अनि जेनीले बेलाबेलामा खै म पनि प्रयाश गरुँ त भनेर उसलाई साथ दिइरहेकी थिइ। अनिमेषले चाँहि जेरीको शीरदेखि पैताला सम्म नजर दौडायो। हल्का सेतो रङ्गको caftan लगाएकी जेरीको नओवाइसकेको कपाल जिङिग्रिङ्ग फैलिएको थियो ।बाहिरी लुगाले छाती राम्ररी नछोपेकाले उसका सेतो भित्री पनि प्रष्ट रुपमा देखिएको थियो। अनि पैताला नाङ्गै थिए। सपक्क मिलेको बदनमा वैंशले भरिएकी जेरीलाई देख्दा कुन पुरुषको लोभी आँखा लाग्दैन र भन्ने सोंच्दै अनिमेषले उसलाई एकटकले हेरिरह्यो। अनुहारमा बाह्र ठाउँमा मुजा परेकी चाउरी बुढी जेनीतर्फ भने उसले एकै निमेष दृष्टि फ्याँक्न भ्याएन।

जेरीले खत्र्याकखुत्रुक गर्दै साँचो खोल्ने असम्भव प्रयाश गर्दैरही । नेपालको जस्तो साँचो भा त कब्जा सब्जा उप्काएर, ठाकठुक गरेर अनिमेषले नै खोलिदिने थियो। तर अव यस्तो सुरक्षित साँचो खोल्ने उपाय कि त चाबीलाई नै थाह छ कित सिकर्मीलाई मात्र। अर्को चाबी घरबेटीसंग थियो जो मोटरमा झण्डै एकघण्टा लगाएर मात्र त्यहाँसम्म आइपुग्न सक्थ्यो। केहि महिना अघि अनिमेषको ढोका पनि त्यसरीनै लाग्न पुग्दा उ फौरन घरमा आइपुगेको थियो। तर यसपाली चैं घरबेटी पनि होलीडेमा South Africa गएको मौका प-यो । धन्न उ त्यहि राती मात्र केपटाउनबाट फर्कदै थियो। जेहोस घरबेटी लंडन ओर्लेर हिथ्रोबाट सिधै त्यहाँ आइपुग्न पनि कम्तिमा भोली दिउसोको एक, दुइबजे सम्म त कुर्नैपर्थ्यो । त्यसैले जेरीका अगाडी साँचो खोल्ने कुनै उपाय नभएको कुरामा अनिमेष पक्का थियो। उसले जेरीका लागि कुन विकल्प ठीक होला त भनेर सोंच्न थाल्यो।

अचानक निराश मुहारमा मन्द मुस्कान छर्दै जेरी हलवेको रेलिङ्गमा आडेस लगाइरहेको अनिमेष तिर फर्किइ र कुनै चमत्कारपूर्ण सहयोग पाउने आशामा उसलाई भनि Anii, come on help me out man. जेरीको निराशाजनक बोलीले जेनीलाई हँसायो तर अनिमेष एकाएक गम्भीर हुनपुग्यो। कसरी सहयोग गर्नु त अव। चाबी खोल्ने कुनै उपाय नास्ती, रातिको झण्डै एघार वज्न आँटीसक्यो । उसले भन्यो - 'हेर जेरी चाबी खोल्ने कुनै ताल म देख्दिन, अव तँ खुरुक्क जेनीको कोठामा गएर सुत। उसको कोठा ठूलो पनि छ। बरु ओछ्यान छैन भने मसंग extra ओढ्ने ओछ्याउने छ। त्यहि लगेर काम चलाउनु।' जेरी र अनिमेष दुवैले जेनीको मुखमा हेरे तर जेनी त केहि पनि वोल्दिन बा। अनिमेषले सोंच्यो ' हैन यो बुढीको कोठा त ठूलै छ। डबल बेड पनि छ। अनि छुट्टयाउने हो भने अलग अलग गरेर सुत्न पनि मिल्छ। ल आफ्नो ओछ्यान अरुलाई दिन्न भनौभने मैले मेरो extra दिन्छु भनेकै थिएँ।' अनिमेषले किन यो छुची बुढिले हुन्छ भन्दिन भनेर बिचार ग-यो । ' यो बुढिले जैलेनि यस्तै गर्छे। मैले ब्रोडब्याण्ड र केबल share गरौं न, दुवैले विल तिर्दा खर्च अलि कम भैहाल्छ भन्दा पनि त्यसको सम्पत्ति खाइदिन्छु झै ठानेर हुन्न भनि, ऐले एकरात एउटै घरमा बस्ने छोरी भन्न सुहाउने केटीलाई बास दे न त भन्दा पनि मुखमा ठेंडी लगाएर बस्छै है' मनमनै उसले जेनीलाई सत्तोसराप ग-यो।
कतै एउटै कोठमा दुई आइमाइ मान्छे सुत्दा अरुले नराम्रो ठान्लान भनेर त होइन भन्ने विचार पनि अनिमेषको मनमा पलायो। तर यो त एउटा सहयोग गर्ने समय थियो। त्यति पर सम्म सोच्नुपर्ने कुरो त केहि थिएन। नेपालमा घरमा सत्य नारायणको पुजा सकिएको रात पाहुनाहरुसंग अटाइ नअटाइ भुइंमा लस्करै सुतेको दृश्य उसका सामु ताजा भए। मान्छेहरु संग पैसा फालाफाल भएपछि एउटै कोठामा एकरात सुत्नपनि गाह्रो हुँदोरैछ, अनिमेषको दिमागमा धेरैखालका तरङ्गहरु मडारिदै गए। उसले जेरीको फक्रिएको बैंशलाई चटक्क विर्सियो र केवल यो बुढिले त्यति कुरो मान्दिए थुपुक्क सुत्न जान्थे म त भन्ने सोचेर खुइए ग-यो, तर बुढि बोलिन । अचानक जेनीको कोठाको ढोका खुल्यो र एउटा बुढो खोक्दै बाहिर निस्कियो। त्यो उहि बुढो थियो जो सप्ताहन्तमा अनिमेषहरुको फ्ल्याटमा आएर जेनीसंग रात विताउने गर्थ्यो । 'ए कुरो त यस्तो पो रैछ।' बुढिले मुखमा बट्टा लगाएर बस्नुको कारण बल्ल बुझ्यो अनिमेषले । जेनीले आफ्नो अनुहार भुईंतिर फर्काइ, संगसंगै जेरी र अनुमेषका आँखा जुध्न पुगे। केहि दया, केहि आशा र केहि तृष्णाका भावमा जेरीका ठुल्ठूला आँखाले अनिमेषका आँखालाई सोधिरहेका थिए - 'अनि, मेरा लागि केहि उपाय गर न। म थकाइ मेट्न चाहन्छु, केवल आजको रातका लागि।'

बुढो बाथरुम झ-यो, फर्क्यो र फरी जेनीको कोठामा छि-यो, बोल्दै नबोली । जेनी पनि एकछिन अलमल्ल परि अनि ल म गएँ है त भनेर उसकै पछि लागि र आफ्नो कोठाको ढोका ढप्काइ। अनिमेष र जेरी हलवेमै अलमल्ल परेर एक अर्कालाई हेरिरहे एकछिन।

समय ढल्किरहेको थियो, त्यहाँ त्यसरी मौनता साँधेर वसिरहनुको कुनै अर्थ थिएन। जेरीका थकित आँखाहरु एक तमास अनिमेषका आँखामा प्रश्न बाचक चिन्हहरु तेर्साउँदै अडिइरहेका थिए, अनिमेषले आँखा जुधाइरहन सकेन र टाउको भुँइ तर्फ झुकायो।

अनिमेष एक उमेरदार युवक, वर्षौं देखिका आकांक्षाहरु चुलिएका थिए उसमा । केटी साथीहरु नभएका होइनन, स्कूल/कलेज र काममा उसले प्रसस्त केटीहरुसंग मित्रता गाँसेको थियो। तर कसैसंग पनि उसले अन्तरंग सम्वन्धको सुत्रपात गर्न सकेन। भावनात्मक रुपले जतिसुकै निकट भएपनि त्यो शारिरिक सम्वन्धमा रुपान्तरित हुन पाएन। कति पटक परिस्थिति उसको अनुकुल हुँदा पनि ऊ चुक्यो, केहि गर्न सकेन। शायद उसका विचार र सिद्धान्तहरुले उसलाई नियन्त्रित गरिरहे वा भनौं उ एकदम कायर भयो, अवसरहरुको फाइदा उठाउन सकेन। परम्परा, संस्कार, विवाह नै शारिरिक सम्वन्ध गाँस्ने लाइसेन्स हो भन्ने पूर्विय मान्यता उसको दिमागमा यति प्रगाढ भएको थियो कि कहिले काहिं उ आफ्नो कायरपनलाइ स्वयं खिसी गर्थ्यो। उसको पुरुषत्वले उसैलाई जिस्क्याउथ्यो बेलाबेलामा। उ नारी सौन्दर्यको प्रसंशक, पूजक थियो तर त्यसको आदर सम्मान पनि त्यत्तिनै गर्थ्यो वा गरेजस्तो बाहना गर्थ्यो। मान्छे भोगचलन र उपयोगिताको वस्तु होइन र उपभोग गरेपछि स्वतः त्यस प्रतिको दायित्व उपभोक्ताको काँधमा आउँछ भन्ने कर्तव्यवोध अथवा एक प्रकारको भयले उसको मानसपटलमा लगाएको घेरा वैंश फूलेर, फक्रिएर पाक्दा सम्म पनि हट्न सकेन। भनौं न उ अलि बढि नै सज्जन हुन खोज्यो वा सज्जन भएको अभिनय ग-यो र जीवनको एक तिहाई अंश वितिसक्दा पनि रतिरागका तृष्णाहरु फूले र त्यसै ओइलाउँदै गए उसका कल्पनाका तरेलीहरुमा। उसका कठोर आदर्शहरुले शारिरिक आकांक्षाहरुलाई निर्ममतापूर्वक कुल्चिएर दवाए। उसका चाहनाका सुशेलीहरु सँधै हतास र निरास भएर स्खलित भैरहे। रातहरु मृगतृष्णामा विते तर उ कुमारको कुमार नै रह्यो।

विदेशिए पछि पनि पश्चिमा संस्कृतिलाई घपलक्क अंगालो हाल्न सकेन अनिमेषले । तर उसका बिचारहरु परिवर्तित हुँदैथिए। काममा महिला सहकर्मीहरु सित निर्धक्कसंग जिस्किन/छिल्लिन सिक्यो उसले। घरीघरी मनमनै यसलाई फकाउनु प-यो भन्ने विचार प्रकट हुन थाले। कहिलेकाहिं त जाउँ हिंड मसंग समेत भनिदियो अनिमेषले चिनापर्चिका केटिहरुलाई। ?कहाँ जाने, लौ हिंड न त? नभनेका पनि होइनन कसैकसैले उहि जिस्किएको पारामा। तर उसका प्रस्तावलाई कसैले पनि गम्भीर भएर लिएनन क्यार, उसले पनि कसैलाई हुरुक्क गर्न चाहेन। फेरी परिस्थितिको मेलजोल पनि त हुनुप-यो, हैन र ? काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर पनि गर्नुभएन नी।

त्यो फ्ल्याटमा सरेपछि र जेरीलाइ देखेपछि भने अनिमेष साँच्चैनै आशावादी भएको थियो । ?एक वाजी सोधेर हेर्नुप-यो यार, के भन्दीरैछे? यो सोंचाइ धेरै पटक मनमा खेलिरहे । तर समस्या उहि समय सन्दर्भको थियो, अनुकुलताको। खुला आकाशमा कहिले वादल लाग्यो, कहिले झरी प-यो, कहिले घाम चर्कियो तर भित्र उसले चाहे जस्तो मौसम आउँदै आएन; उसको आकांक्षामा खडेरी लागिनै रह्यो, तिर्खा मेटिएन।

*********************************************************************
समय वलवान छ र मौसम पनि दयावान। कसैको जीवनमा सँधै खडेरी मात्र थोपरिदिने अन्याय समयले गर्दैन। अन्तत अनिमेषले सोंचेको जस्तै अनुकुलता उसका सामु आइलाग्यो, त्यो रात। जेरीको चाबी हराउनाले। हराएको पनि होइन, ढोकाले धोका दिनाले। जेनीको अधवैंशे जोडी आफ्ना गुंडमा गैसकेका थिए। तलको कोठाका रबिन र क्रिस त झन माथीको खैलावैलाको कुनै परवाह नगरी आफ्ना रात्रीचर्याहरुलाई निरन्तरता दिंदैथिए। र अनिमेषका अगाडी एउटा अनियमित आकस्मिकता उभिइरहेको थियो जेरीको आवरणमा। जेरी मौनतामा अल्झिएर उसको प्रतिकृयाको प्रतिक्षा गर्दैथिइ। अनिमेषको ढोका मानौं एउटा भिन्दै अतिथीको स्वागतार्थ आधा खुलिरहेको थियो। वाँकि थियो त केवल अनिमेषको निर्णय। हो, त्यो ठाउँ नजिकका सवै जीव र नीर्जिव वस्तुहरुले अनिमेषको फैसलालाई निःशब्दताका साथ कुरिरहेका थिए।

'जेरी तिमीलाई थाहै छ हैन त - मेरो सिंगल रुम हो भन्ने कुरा' एक्कासी अनिमेषले त्यहाँ व्याप्त सन्नाटालाई चिर्दै भन्यो।
'हँ' जेरी झस्किइ ।
'मेरो सिंगल रुम अनि सिंगल बेड हो, कोठा एकदम साँघुरो छ। दुईजनालाई त शास फेर्न पनि मुश्किल हुन्छ।'
जेरी केहि बोलिन।
'मैले तिमीलाइ साँच्चैनै सहयोग गर्न चाहेको थिएँ, तर हेर न मेरो कोठा शेयर गर्न मिल्ने नै छैन। तिमी अव यहिं बाहिर हलवेमा सुत । म मेरो एक्स्ट्रा विछ्यौना दिइदिन्छु।' अनिमेषले एकै शासमा आफ्नो कुरा सिध्यायो।
जेरी शायद अनिमेषको अनपेक्षित कुराले हताश हुन गई। उसको गलाबाट किक्लिक्क आवाज आयो।
'के तिमीलाइ बाहिर सुत्न गाह्रो लाग्यो? त्यसै हो भने तिमी भित्र सुत म यहिं वाहिर सुत्छु आजको रातका लागि।'
'हैन Anii , तिमीलाई बाहिर सुत्न भनेर म एक्लै तिम्रो कोठामा सुत्दिन' जेरीले गम्भीर हुँदै बल्ल उसको मौनव्रत तोडी।
'मलाई तिमीलाई यसो भन्नुपर्दा अप्ठ्यारो लागिरहेको छ जेरी। तर तिमी एक केटी हौ, तिम्रो boyfriend पनि छँदैछ। त्यसैले मैले तिमीसंग आफ्नो बेड शेयर गर्न सक्दिन, तिम्रा लागि गर्नसक्ने favour यति नै हो। रोजाइ तिम्रो - भित्र या बाहिर?'
'ठिक छ, तिमी जे भन्छौ।' उसले लामो शास तानेर प्रतिउत्तर दिइ।

अनिमेष आफ्नो कोठा भित्र पस्यो। उसको पलङ मुन्तिरको 'स्टोरेज बेस'मा राखेको डसना, कम्मल र सिरानी निकाल्यो। दराजबाट अघिल्लो हप्ता धोएर राखको च्यादर र सिरानीको खोल झिक्यो । अनि सवै कुरा लगेर बाहिर उभिरहेकी जेरीलाई दियो।
'सवै सफा छ। धोएर राखेको।'
'थ्याङ्क यू'
'Sorry I couldn't help you a lot. A new experience for you, in e (isn't it) ?' अनिमेषले हाँसेको अभिनय गर्दै जेरीलाई भन्यो।
'No it's allright. Thank you . he he he' जेरी पनि उन्मुक्त भएर हाँसिदिइ।
'OK goodnight' अनिमेष आफ्नो ढोकातिर फर्किएर फ्रेममा आडेस लाग्यो।' Lemme see you putting your bed' फेरी उसले बोल्यो। जेरीले गजधुम्म पर्दै भित्ता र रेलिङ्गको बीचमा साँघुरो गल्लिमा विछ्यौना लगाई। उसले घुँडाले टेक्दै विछ्यौना लगाउँदा अनिमेषले उसका एकजोडी वक्षको राम्ररी नै दर्शन पायो। केहि चाल नपाए जस्तो गरि उसले आफ्ना कदमहरु पछि फर्कायो र जेरीलाई फेरी गुडनाइट भनेर आफ्नो कोठाको ढोका ढप्कायो। तर सँधै सुत्नेबेलामा लगाउने चुकुल लगाउन मन लागेन उसलाई त्यो रात।

उसले आफ्नो कोठालाई सरसर्ती जाँच्यो। पलङ्ग त्यस्तो सानो पनि छैन। कुर्सी, टेबल, कम्प्युटर बायाँपट्टी र दराज, टेलिभिजन -याक र अर्को सानो दराज दायाँपट्टी छन्। बीचको खाली भाग पनि बाहिर हलवेको भन्दा त फराकिलो नै छ त। उसले अन्यमनस्क भावमा अगाडीको मिररमा आफ्नो शरीरलाईं जाच्यो। र आफू एकदम हट्टाकट्टा, नौजवान पुरुष नै भएकोमा विश्वस्त भयो। 'छ्या के सोच्या होला मैले नी' भन्दै अनिमेषले कोठाको वत्ति निभायो अनि लमतन्न परेर विछ्यौनामा पल्टियो।

उसका मनमा अनौठा विचारहरु खेल्न थाले,एक आपसमा द्वन्द गर्न थाले। एक मनले भन्यो - थुक्क पाजी, यतिका दिनसम्म बेचैनीका साथ पर्खेपछि आएको मौका त्यसै खेर फालिस हैन। अर्को मनले भन्यो - भोक लाग्यो भन्दैमा अरुले जुठो पारेको, दश ठाउँमा कोपरेको फल खानुहुन्छ त? यतिका वर्ष त भोकै वसें अव यस्ता दर्जनौले जुठ्याएको फल खानुभन्दा अलिखेर भोकै बसेको राम्रो नी। ह्या आज त मैले हिम्मत गरेको भा'नी हुने। हैन जे भयो ठिकै भयो भो, नत्र भोली देखि त्यसलाई दिनदिनै समेल्दैमा फुर्सत नहुने बेर पनि त हुन्थ्यो। मेरो तेत्रो जोश आज कता हरायो हँ? तेस्को boyfriend ले था'पाएको भा गोद्थ्यो होला है कालेले मलाई। आदि इत्यादि सोंच्दा सोंच्दै अनिमेष निद्रादेवीको शरणमा प-यो। निदाउनु अघि पिसाब लागे जस्तो भा'थ्यो उसलाई तर बाहिर सुतेकी जेरीलाई डिस्टब हुन्छ कि भनेर उ त्यसै निदाइदियो।

विपनामा पो ईन्द्रियहरुलाई कावुमा राख्न सकिन्छ। रात छिप्पिएर विहानी उघ्रन लाग्दा अनिमेषले अनौठो सपना देख्यो। चुकुल नलागेको ढोका खोल्दै जेरी जस्तै लाग्ने एउटी निर्वस्त्र केटी आइ।उनिहरुले एक आपसमा चुम्बन साटे, दुवैका ईन्द्रियहरुले मायाप्रिती गाँसे। रोमांचित
हुँदैथ्यो उसको सपनामा अनिमेष, निद्राले अचेत अवस्थामै चरमोत्कर्षामा पुग्यो उ र एक्कासी झल्यास्स व्यूझियो। असिनपसिन थियो उ,केहि पोखिएजस्तो महशुस ग-यो उसले अनि अनायाश आवाज निस्कयो -फेरी स्वप्नदोष। आफूसंग आफै लजाउँदै अनिमेषले घडि हे-यो, विहानको सात वजिसकेको थियो। हत्तेरिका भन्दै उ विछ्यौनाबाट उठ्यो र चालमारेर विस्तारै ढोका खोल्यो। जेरीले कतिबेला हो उठेर विछ्यौना पट्याइ वरी रेलिङ्गमा राखेर कता गइछ कुन्नी। उ आफ्ना तौलिया, लुगासुगा लिएर नुहाउन बाथरुम झ-यो। फर्केपछि उसले भित्र र वाहिरका सवै तन्ना र खोलहरु पटुयाएर तलको वाशिङ्ग मशिनमा हालिदियो।त्यहि हलवे हुँदै माथी कोठामा फर्कियो र सोझै नेपाल, आफ्नो घरमा टेलिफोन डायल ग-यो।

फोन मेरो मामा अर्थात अनिमेषको बुवाले उठाउनुभयो।
'वुवा' अनिमेषले भन्यो। ' म यहि मंसिरमा घर आउँछु'
'हँ, अस्तिको पल्ट कुरा गर्दा त अझै दुई बर्ष आउँदिन भन्थिस त'
'हैन बुवा म यहि वर्ष आउँछु। अनि त्यै बेला बिहा गर्ने अब। बुहारी खोज्दै गर्नुहोला'
'के भन्छ यो केटा?'
'हो बुवा, अब मैले बिहा गर्ने निर्णय गरें । त्यो पनि यहि वर्ष, आउने मंसिरमा'
'हो ? ठीक छ त्यसो भए। हामी पनि छोराले नै यसो भनोस भन्ने चाहेका थियौं। तेरी आमाले नी अव बुहारी भित्र्याउन पाए हुन्थ्यो भनेर गनगन गर्दै थिइ। अव खुशीले भुतुक्क हुने भइ'
'ल बुवा मैले डाइरेक्ट फोन गरेको, विल भुसुक्क उठ्छ फेरी'
'तैंले साँच्चै नै बिहा गर्ने निर्णय गरिस हैन त'
'हो बुवा। तयारी गर्नुहोला तेतातिरको। अहिले राख्दिन्छु' यति बार्तालाप पछि अनिमेषले फोन राखिदियो।

दिउसो उहि पाँच पाउण्डको कार्ड लिएर अनिमेषले मलाई फोन ग-यो र चाबी हराएको रातको सम्पूर्ण वेलिविस्तार लगायो। मैले खुब रमाइलो मानी मानी उसको कुरा सुने। अन्तिममा उसले भन्यो, 'दाई तपाईं पनि त्यति बेलै नेपाल आउनुस न अमेरिकाबाट, अनि दाजुभाई दुबैले बिहे गरौंलानी' । मैले हँस्यौली पारामा भने, 'मोज गर बा तैंले, आफ्नो त यहाँ कलेजलाई तिर्ने पैसा नपुगेर विजोग भैराछ। कसरी बिहे गर्नु?' मैले आफ्ना वाक्य पूरा नगर्दै कार्डको समय सिद्घिएछ। 'पैसो जुटाउ, बिहे गर, भोज ख्वाउ अनि एक महिना पछि नौली श्रीमतीलाई एक्लै छोडेर फेरी अमेरिका फर्क; म यस्तो काम गर्न सक्दिन बा' मैले लाइन काट्टिइसकेको टेलिफोनमा भनेको कुरा अनिमेषले सुन्ने कुरै भएन।

समाप्त।

No comments:

Post a Comment