नेपालको राजनीति : अबको बाटो

नेपालको राजनीतिको अग्रस्थानमा नेपाली कांग्रेसको अधिपत्य संविधानसभाको निर्वाचनले तोडिदिएको छ । उसको स्थान लिएको छ लोकतान्त्रिक अभ्यासमा अनुभवहीन वामपन्थी पार्टी नेकपा माओवादीले। कांग्रेस नेताहरुले चुनावमा वेहोरेको पराजयको मूल्यांकन आफ्नै ढ‍ंगले गरिरहेका छन् र उनीहरुको मूख्य गुनाशो छ - माओवादीहरुले जनतालाई तर्साएर हामीलाई हराइदिए। त्यो एउटा कारण हुनसक्छ तर आफ्नै प्रधानमन्त्री, गृहमन्त्री, रक्षामन्त्री र अर्थमन्त्री सरकारमा रहँदा जनतालाई भयरहित रुपमा मतदान गराउने वातावरण बनाउन नसक्नु कांग्रेसकै असफलता हो। शान्तिसुरक्षाको स्थिति कांग्रेसको गिरेको चुनावी हैसियतको निर्णायक कारक हुँदै होइन। बरु उसले जनतामाथी १८ बर्षदेखी गरेको बेइमानीको नतिजा हो यो। त्यसैले कांग्रेसले पराजयका विभिन्न वाहना बनाउन छाडेर विगतको समिक्षा गर्दै आफैलाई परिस्कृत गर्नु उसको राजनीतिक अस्तित्वका लागि अपिरहार्य छ।
सुजाता, जोशी, भाट प्रभृत्तिले नेपाली कांग्रेसलाई आधा डुबाइसके। अब गिरिजाले अकर्मण्यता देखाए भने कांग्रेस पूरै डुब्ने पक्का छ। जोशीहरुले माओवादीको सत्तारोहणमा भाँजो हाल्नु स्वभाविक पनि छ किनभने माओवादीले सहमति र विकासको राजनीति गरेभने जोशीहरुको राजनीतिक जीवन समाप्त हुन्छ। तर कांग्रेस जोशी प्रभृत्ति मात्र होइन र जोशी प्रभृत्तिविहिन कां‍ग्रेसको भूमिका धेरै महत्वपूर्ण हुनसक्छ अबको नेपालमा, खासगरी माओवादीहरुलाई लोकतान्त्रिक बाटोमा हिंडाईरहन र तानाशाही गन्तव्य तर्फ जान नदिन। जोशीहरु भने भड्खालोमै गएको राम्रो।
कांग्रेस र कांग्रेसका गणतान्त्रिक र प्रगतिवादी नेताहरुले माओवादीलाई नै‍ नेतृत्व सुम्पिनुपर्छ यसपाली अनि माओवादीले सम्मानजनक अंश दिए सरकारमा रहनुपनिपर्छ संविधान लेखुन्जेल। कांग्रेसले माओवादीलाई उसको गुण र दोषको आधारमा सहयोग र विरोध गरेर जनताको संविधान लेख्न ईमान्दार भूमिका निभायो भने भोलीका संसदीय निर्वाचनहरुमा उसको उच्च मूल्यांकन हुनेनैछ। हैन, शुरुमै माओवादीलाई सत्तामा जान नदिन विभिन्न तिक्डमहरु गर्ने, गणतन्त्रको कार्यान्वयनमा ढिलाई गरिदिने, षड्यन्त्रको खेलमा होमिने काम भयो भने कांग्रेसको पत्तासाफ हुने निश्चित छ। त्यसले कि त माओवादीप्रतिको जनताको सहानुभूति झनै बढाइदिन्छ र माओवादीलाई लोकतान्त्रिक पद्धतिबाटै लामो समयसम्म सत्तामा टिक्न सघाउँछ कि त माओवादीलाई हिंसात्मक रुपमा सत्ता कब्जागर्न वाध्य पारी देशलाई उग्रकम्युनिष्ट शासन व्यवस्थामा चाँडै धकेलिदिन्छ। त्यसैले कांग्रेसले माओवादीसंग गर्ने व्यवहारले पार्टीको भविष्य मात्रै नभएर देशको भविष्यलाई समेत गम्भीर प्रभाव पार्ने निश्चित छ।
अहिलेसम्म कांग्रेस र माओवादीको सम्वन्धले सकारात्मक परिणाम देखाइरहेको छ, कमसेकम माओवादीको शान्तिपूर्ण Safe Landing हुनु एउटा महान उपलव्धी हो। अब लोकतान्त्रिक पार्टीहरुबीच यस्तो फाटो नहोस जसले उनीहरुलाई दक्षीणपन्थी राजावादीहरुसंग अप्रीय गठजोड गर्न वाध्य पारोस। भोली कांग्रेसले दरबारिया र सेनासंग मिलेर माओवादी विरुद्ध षड्यन्त्र गर्न थाल्यो वा माओवादीले सहज सत्तारोहणका लागि दक्षीणपन्थीहरुसंग कम्मर गाँस्यो भने कांग्रेसको पतन निश्चित छ। अनि माओवादीले कांग्रेसलाई सिध्याउने धूनमा दक्षिणपन्थीहरुसंग अप्राकृतिक साईनो गाँस्यो भने केहि बर्ष त माओवादी टिक्ला तर त्यसपछि फेरी सत्ताको पासा दक्षीणपन्थीहरुको हातमा पल्टिनेछ। काग्रेस, एमाले र माओवादी अनि मधेशमा उदाएका शक्तिहरुले सुझवूझपूर्ण ढंगले सहयोग र सहकार्य जारी राखे भने मात्र नयाँ नेपालको परिकल्पना साकार हुन्छ। उनीहरु मध्ये कुनै एउटा पक्ष दक्षीणपन्थीहरुको चंगुलमा फस्यो भने गैल भैंस पानीमे। त्यसो भएमा कि त उग्रकम्युनिष्ट शासन (more likely) कि त उग्रदक्षीणपन्थी शासन (less likely) वा भारतीय शासन (remotely likely) को कहालीलाग्दो यथार्थलाई स्विकार्नुपर्ने वाध्यता आइलाग्नेछ।
अर्को कुरा कांग्रेसले केहि हजार सम्भ्रान्त वर्गको प्रतिनिधित्व गर्ने कि झण्डै आधा जनसंख्या रहेको निम्न-मध्यम र त्यसमाथीको वर्गको प्रतिनिधित्व गर्ने भन्ने निर्णय चाँडै गर्नुपर्छ। अनि प्रचण्डलाई Hugo Chavez र वुद्धदेव भट्टाचार्यको बाटोमा हिंडाउने कि Kim Jong Il र Pol Pot को बाटोमा हिंडाउने भन्ने कुराको सूत्र पनि अब कांग्रेस र एमालेले नै प्रतिपादन गर्नेछन्। क्षणिक लाभका हिसाबले भने अहिले माओवादीका दुबै हातमा लड्डु छन्। प्रचण्डले स्वस्थकर लड्डु खाने हुन कि विषाक्त लड्डु खाने हुन त्यो पनि हेर्न वाँकी नै छ।

No comments:

Post a Comment