राजतन्त्रकाे धङ्धङि र यथार्थ

 - राजन काफ्ले




२०४६ सालमा राजा वीरेन्द्रले दलिय प्रतिवन्ध हटाएर‌ बहुदलिय प्रजातन्त्र घाेषणा गर्दा म ११ बर्षकाे थिएँ। त्यसअघि प्राथमिक तहमा पढ्दा देखिनै हरेक बर्ष राजा, रानी, मुमाबडामहारानी जन्मजयन्ती, पंचायत तथा एकता दिवसजस्ता कम्तिमा आधा दर्जन कार्यक्रम भनेर  ६ किलाेमिटर टाढाकाे निमावीसम्म 'हाम्राे राजा हाम्राे देश, प्राण भन्दा प्याराे छ' भन्दै घाँटी सुकाउँदै नारा लगाउँदै पैदल जाने आउने गर्दा लखतरान परिन्थ्याे। राजाकाे तश्विरमा १० धार्नी माला झुण्ड्याउँथे। उत्तर काेरियाका किम जाेन उन मार्काकाे व्यक्तिपूजा हुन्थ्याे। गाउँमा बिजुली थिएन, टिभी थिएन, टुकि‌/ लालटिनमा पढ्नुपर्थ्याे। रेडियोकाे समाचार बिचसम्म पुग्दा पनि श्री ५ ले यसाे गरिबक्स्याे र उसाेगरिबक्स्याे भनेर सकिन्थेन। मौसुफले के जुनार गरिबक्स्याे समेत दिनदिनै सुन्नुपर्थ्याे। गाउँभरी एकाध घर पक्कि थिए, केहि टिन/खपेटाका छानाका र अधिकांश खरका छानाका घर हुन्थे। एउटा घरमा आगाे लाग्दा लगभग सप्पै टाेल नै सखाप हुनेगर्थ्यो।  दलितहरुले जिटिजेडले बनाएकाे चापाकलकाे पानी पिउन समेत मुश्किल हुन्थ्याे, तिनलाई छाेइयाे भनेर सुनपानी छर्किने चलन थियाे। सेना, पुलिस गाउँ आए जसलाई मन लाग्याे त्यसलाई निर्घात कुटेर हिड्थे। डिएफओ देखि प्रधानपंचसम्मले मनपरि गर्न पाउँथे। वादविवाद, झैझगडा देखि गंभीर अपराधमा गापंस, जमिन्दार र हुनेखानेले जे भन्याे त्यहि निर्णय हुन्थ्याे। कुटपिटबाटै न्यायकाे निराेपण हुन्थ्याे।

स्कुलमा हामी सप्पै जसाे जाँगे र चप्पलमा पढ्न जान्थेम, बा कछाड वाँधेर बुटवल, भैरवा, काठमाडौँ पुगेकाे समेत याद छ। गणित र विज्ञान बाहेक सबै कितावकाे झण्डै एकतिहाई भाग शाहवंशकाे गुणगानले‌ भरिन्थ्याे।  औंलामा गन्नसक्ने मान्छेहरू मात्र पढ्न रूस, बेलायत, अमेरिका गए रे भनेकाे सुन्न पाइन्थ्याे। गाउँमा धेरैसंग नागरिकता थिएन, पासपाेर्ट हुने त कुरै भएन। गाउँले युवाहरु एसएलसी नदिंदै भागेर दिल्ली बम्वे पुग्थे। बाआमा बर्षभरी खेतमा घाेटिंदा खानपुग्ने उब्जनी आउन धौधौ हुन्थ्याे। हाे राजा बस्ने शहर काठमाडौँ अलि‌ सफा र व्यवस्थित थियाे हाेला, काठमाडौँसित साइनाे हुनेहरुकाे जीवन सुकिलाे-मुकिलाे थियाे हाेला। तर रुपन्देहीकाे सुगम गाउँमा हुर्किएकाे मेराे वाल्यकालकाे पंचायती व्यवस्थाकाे अनुभव त यति वाक्कलाग्दाे छ भने दुर्गम पहाड, कर्णाली, महाकालीकाे जीवन कस्ताे थियाे हाेला?
मान्छेहरु त्याे बेलाकाे समय नै त्यस्तै थियाे भन्छन्। याज इफ त्याे ढुंगे युग थियाे। राजा वीरेन्द्रले पढेको इटन स्कुल नजिककाे लंडन शहरका अहिलेका अधिकांश पूर्वाधारहरू १९औं र २०औं शताब्दीकाे शुरुमै  पुरै बनिसकेका थिए। शाहवंशले बिसं ४६ सालसम्म के हेरेर बसे? शाहवंशिय सामन्तवादका अभियन्ताहरू तिनलाई बेलायती राजतन्त्रसंग दाँज्नखाेज्छन। बेलायतमा म्याग्नाकार्टा देखि स्कुल, विश्वविद्यालयहरू, रेल, बिजुली,‌उद्याेग,‌कलकारखाना कहिले आएका थिए, हेक्का छ?  अहिले कमसेकम युराेप, अमेरिकामा आउने साधन र प्रविधि थाेर बहुत नै सहि केहि महिना मै नेपाल त पुग्छ। पंचायतकालमा नारायणहिटी पुगेकाे कुन चै कुरा काठमाडौं बाहिरकाले उपभाेग गर्न पाएका थिए?

यतिबेला मेराे गाउँका बाेटे, सार्की, र थारु दौंतरीहरु पक्की घर बनाएर, बिजुली बत्ति बालेर, आफ्नै धाराकाे पानी खाएर, बाेर्डिङमा छाेराछाेरी पढाएर बसेका छन्। उनिहरुलाई छुवाछुत गर्ने हिम्मत कसैले गराेस त अहिले! याे समयकाे परिवर्तनकाे उपजमात्र हैन लाेकतन्त्र र खुल्ला समाजले दिएकाे स्वतन्त्रता,‌समानता, चेतना र आत्मसम्मानकाे अवसरकाेे परिणाम पनि हाे। हाे धेरैजसाे नेताहरू असक्षम, पदलाेलुप र भ्रष्ट निस्किए। तर आम जनताले स्वतन्त्रताकाे फाइदा उठाएर जीवन उकास्न त पाएका छन्।  बहुदलिय नेताहरूलाई चाेर , गद्दार, देशबेचुवा भनेर गाली गर्दा काेहि जेल जानु त पर्दैन, स्कुलका विद्यार्थीले तिनकाे स्तुति गान गाउँदै लखतरान पर्नु त पर्दैन। सबैलाई बाेल्न, विराेध गर्न, पार्टी खाेल्न, चुनाव जित्न छुट छ।‌ जितेर सुशासन र विकास नीति कार्यन्वयन गर्न पाउने अवसर छ। व्यवस्था र परिपाटीकाे मानक स्थापित भैसकेका छन् र केहि सक्षमहरूले गरेर देखाएका पनि छन्। नेतृत्वमा जान चाहने सबैलाई गरेर देखाउन पाउने अवसर छँदैछ। अनि किन चाहियाे फेरी एउटा व्यक्तिकाे हुकुम, परमादेशमा चल्नुपर्ने वंशवादी राजतन्त्र? हाेला, तत्कालिन दरबारबाट पाेसिएका केहि दर्जन ठालु र तिनका आसेपासेहरू सामान्य जनताकाे ठूलाे हिस्साकाे जीवनस्तर उनिहरूकै हैसियतमा पुगेकामा खिन्न हाेलान्। दरबारले फेरी पुरानै शान र रजगज पुनर्स्थापित गराइदेला भन्ने मनगढन्त आशाकाे त्यान्द्राे चुँडिरहँदा छटपटी हुनेनै भयाे। 

तर हामी जस्ता सामान्य जनताका छाेराछाेरीका लागि दाग सहितकाे सहि यहि लाेकतन्त्र‌नै जाति छ। अहिलेकाे निराशाकाबिच जतिसुकै चलाखीपूर्वक राजतन्त्रकाे‌ वकालत गरिएपनि यथार्थ के हाे भने समग्र नेपालीहरुकाे जीवन ४६ सालअघि अझ धेरै कष्टकर थियाे। चरम असमानता र गरिवी थियाे।‌ राजेश हमालले भनेकाे कुरा यथार्थ हाे।  युट्युवमा गएर २०औं शताब्दिकाे आर्थिक वृद्धिकाे डेटाग्राफ हेर्नमात्र पर्छ, महेन्द्र देखी वीरेन्द्रसम्म आइपुग्दा नेपाल सँधै संसारकाे पूछारमा,  गरिबतम ३ भित्र परेकाेपर्यै थियाे। बरू ४६ सालपछि आर्थिक वृद्धिमा ह्वात्तै सुधार आएकाे देखिन्छ। पंचायतकाल व्यहाेरेका हामी र म अघिकाे पुस्ताले नेपाल त्यसबेला अहिलेभन्दा गतिलाे थियाे भन्ने झूठाे न्यारेटिभलाई स्विकार गर्ने कुरै छैन। विदेश भ्रमणमा प्रचण्डले भन्दा वीरेन्द्रले  बढि सम्मान पाएकाथिए भन्दैमा आम जनता राजतन्त्रकाे‌ प्रेत जगाउन तयार‌ हुने सपना नदेखे हुन्छ। यथार्थमा राजतन्त्र अब इतिहास र संग्राहलयमा मात्र सुरक्षित छ।

No comments:

Post a Comment