पल्पसा क्याफे (Book Review)

बल्ल पल्पसा क्याफे सिद्दियो। एक साता भित्रका दुई छरपष्ट विदाका विहानीहरुमा मेसो मिल्यो भनौं न।

धेरै नेपाली उपन्यासहरु पढेको छुइन। त्यसैले पल्पसा क्याफेमा मदन पुरस्कार पाउने योग्यता थियो कि थिएन भन्ने जाँच गर्ने योग्यता आफैमा नरहेको स्विकार गर्छु सबभन्दा पहिला। साहित्यको सामान्य पाठकका आँखाले जस्तो देख्यो त्यस्तै लेख्छु। पुस्तक समिक्षा कहिल्यै गरेकै छैन त्यसैले आफ्नो व्यक्तिगत विचार हो यो।

पल्पसा क्याफे नौलो शैलीमा लेखिएको नेपाली उपन्यास हो। साहित्यिक ओजका दृष्टिले यसलाई विपी, पारिजात, दौलत विक्रम विष्ट जस्ता मूर्धन्यहरुका सिर्जनाहरुकै समकक्षमा राखेर तुलना गर्नु उचित नहोला। तर यसले नेपाली उपन्यास लेखनमा नयाँ र पृथक शैलीको शुरुवात गरेको छ। एकजना युवा साहित्यकारको पदार्पण भएको छ नेपाली साहित्यको फाँटमा जसको पहिलो प्रयासबाट निश्चित रुपमा नेपाली औपन्यासिक विधालाई आशलाग्दो निरन्तरता मिलेको छ। नारायण वाग्लेका साहित्यिक रुपमा अनुभवहिन कलमहरु तिखारिंदै गएमा उनको मौलिक शैलिले आफ्नै विशिष्ट पहिचान स्थापित गर्न सक्ने छनक पल्पसा क्याफेले राम्ररी दिएको छ। यसको चर्चा परिचर्चा र प्रसिद्धीलाई नारायणको हैसियतसंग जोडेर मूल्यांङ्कन गरिएमा लेखकको मेहनत माथी सर्वथा अन्याय हुन जानेछ। किनभने पल्पसा क्याफेका पाना भित्र चित्र विनै देशको अनुहारको विचित्र शब्दचित्र कोरिएको छ।

लाग्छ पल्पसा क्याफेका लक्षित पाठकहरु आम नेपालीहरु हुँदै होइनन्। यो उपन्यास निम्न र मध्यम वर्गिय नेपालीलाई साहित्यिक खुराँक पस्किन लेखिएको होइन भन्ने यथार्थ यसको मूल्यबाटै प्रतिविम्वित हुन्छ। २५० रुपैया उपन्यास पढ्ने रहर पाल्ने शिक्षित नेपालीहरु मध्येको एउटा सानो अंशले पनि तिर्न गाह्रो मान्ने मोल हो। यसमा लेखक र प्रकाशक चुकेका छन्। त्यसैले यो उपन्यास विदेशमा बस्ने नेपालीहरु, उनिहरुले पठाएका पैसाबाट नेपालमै स्तरिय जीवनशैली अंगाल्न पाएका भाग्यमानीहरु, समाजको कुलिन वर्ग र नारायण वाग्लेलाई अति मन पराउने उनका प्रसंशकहरुका लागि लेखिएको कृति हो। आम नेपालीले त यसमा चित्रित आधुनिक जीवनशैली, भाषा र लवजलाई वुझ्न पनि कठिन हुनसक्छ, नेपाली साहित्यको रसास्वादन गर्न पाउनु त टाढाकै कुरा। तर माथी उल्लेखित लक्षित पाठक वर्गका लागि भने पल्पसा क्याफे एक पटक पढ्नै पर्ने कृति हो। देशको बर्तमान वुझ्न र नेपाली साहित्यको सामान्य प्रवृत्तिलाई आत्मसात गर्न साझावासीले पल्पसा क्याफे पढ्नुपर्छ भन्ने मेरो ठहर छ। किन ?

ल्पसा क्याफेको कथासार धेरै समिक्षाहरुमा लेखिइसकेको छ। त्यतापट्टी नजाउँ। खासमा यो उपन्यासको सवभन्दा सबल पक्ष भनेको यसले नेपालीहरुका विविधतापूर्ण वर्तमानलाई अतिनै सरल र सरस ढंगले गाँस्ने काम गरेको छ। सानो आकारको उपन्यास भएपनि यसमा धेरै घटनाहरुलाई जोडिएको छ, धेरै विषयवस्तुलाई समेटिएको छ र यसरी समेट्ने काम निपूणताका साथ गरेका छन् वाग्लेले। कथाका केन्द्रिय पात्रका पृष्ठभूमिका कारण निश्चित रुपमा यसको बढि हिस्सा कुलिन र शहरिया मनोभावनाहरुमा केन्द्रित भएको छ तर पनि यसले नेपाली गाउँघरले माओवादी विद्रोहको मारमा वेहोरिरहेको व्यथालाई प्रष्टसंग चित्रित गरेर उपन्यास लेखनको उद्येश्यलाई सार्थकता प्रदान गरेको छ। गाउँ धेरै अघि छाडेर शहर र विदेश पसेकाहरुलाई आफ्नो विगत सम्झिन र गाउँको वर्तमान महसुस गराउन वाध्य पार्छ पल्पसा क्याफेले। घटना र तिनबाट सृजित मनोभावनाहरुलाई बडो रफ्तारका साथ उनेका छन् वाग्लेले। र त्यसमा दम भरेको छ उनको रोचक, व्यंगपूर्ण र बेलाबेलामा मार्मिक सम्वादहरुले। सम्वादहरु प्रसस्त छन लामा छन धेरै छन विविधतापूर्ण छन् विरोधाभाषपूर्ण छन तर प्राय सबै सम्वादहरुले उपन्यासमा रस र सार्थकता भरेका छन्। सम्वादलाई मेरुदण्डको रुप दिएको पल्पसा क्याफे एउटा उपन्यासमा हुने सबै विशेषताहरुले भरिपूर्ण छ। शहरिया र गाउँले जीवन शैली, सम्पन्नता र विपन्नता, पूर्विय पश्चिमा र मिश्रित आदर्शहरु, प्रकृति, जीवन दर्शन, मिलन र विछोड, हाँसो र खुशी, , सोंच्ने र सेलाउने युवा जोश, वालसुलभता, वृद्ध मनस्थितिहरु, आशावादी सपनाहरु तर निराशाजनक यथार्थ अनि समाज र राजनीति - यि सबैको सरसपूर्ण वहाव भएको छ उपन्यासमा। घटनाहरु धेरै छन्, पात्रहरु विवधतापूर्ण। गाउँमा हुर्केर शहरमा पढेको चित्रकार दृश्य, पश्चिममा हुर्किएर पनि पूर्वले तानेर अमेरिकाबाट नेपाल फर्कएकी फोटोग्राफर पल्पसा, आमूल परिवर्तन गर्न विद्रोहमा होमिएको सिद्धार्थदेखि दृश्यकी सेक्रेटरी फुलन, पल्पसाकी हजुरआमा, गायक किशोर, लाहुरे काका, जनसेनामा जान तयार गाउँले किशोरी, मितिनी भेट्न जान लागेकी ५ वर्षिय वालिका, होटेलकी साहुनी, कलापारखी डच युवति क्रिस्टिनासम्मका पात्रहरुबाट उपन्यासकारले विविधतापूर्ण भूमिकाहरुको समायोजन गर्न सफल भएका छन्।

युवायुवति बीचको दार्शनिक स्वरुपको प्रेम, दरबार हत्याकाण्डपछिको काठमाण्डु, गाउँमा माओवादीको जवर्जस्ति, सिद्धान्तनिष्ठ माओवादीका विचारहरु, विदेश पलायन हुने र नफर्किने प्रवृत्ति, हिंशा विना देशमै केहि गर्ने युवा चाहना, पहाड र गाउँका अथाह विकासका सम्भावनाहरु अनि गोला वारुद लडाईं, विष्फोटन र मृत्युहरुको नेपाली यथार्थता समग्रमा देशको चित्र सरल भाषामा समेटेका हुनाले नारायण वाग्लेलाई मदन पुरस्कार दिइएको हुनसक्छ। तर पनि उपन्यासमा मिठासपूर्ण साहित्य र सौन्दर्य रसको अभाव खट्किएको छ। मनोविज्ञान, अमूर्त र अलौकिक अभिव्यंजनाहरु, प्राकृतिक सौन्दर्यको वर्णन आदिको अभाव अनि धेरै राजनीतिले साहित्यलाई कुरुप पारिदिएको छ। त्यसकारण कतिपय पाठकहरुले पल्पसा क्याफे साहित्य नभएर घटनाहरुको सिलसिलेवार वर्णन मात्र हो भन्ने जिकिर गर्न पनि सक्लान। तर एकजना नवोदित लेखकको पहिलो कृतिलाई सिद्धहस्त साहित्यकारहरुका उच्चकोटीका सिर्जनाहरुसंग दाँज्नु त्यति मनासिव पनि नहोला।

No comments:

Post a Comment